क्रियटिभ खबर, २१ असार २०८२, काठमाडौँ । नेपाल, प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिएको मुलुक हो । तर यति नै अनुपातमा यहाँका प्रमुख सहरहरू अहिले वातावरणीय सङ्कटको मारमा परेका छन् । ती सङ्कटमध्ये एउटा गम्भीर तर थोरै मात्र छलफलमा आउने विषय हो, मानव मलमूत्र व्यवस्थापन ।
तपाईँ सोच्नुस्, शहरमा धेरै घरमा शौचालय छन्, तर त्यो शौचालयको फोहर कहाँ जान्छ ? के त्यो वैज्ञानिक तरिकाले व्यवस्थापन गरिएको छ ? वातावरणविद् अनिल खनाल भन्नुहुन्छ, “शहरका अधिकांश घरमा सेप्टिक ट्याङ्की छ भनिए पनि त्यो सेप्टिक ट्याङ्की भनेको पानी रसाउने होल्डिङ ट्याङ्की मात्र हो । पानीलाई जमिनमा सोसाउने पिट् बनाइन्छ जसले इनार र भूगर्भीय जलस्रोतलाई दूषित बनाउँछ, अनि त्यहीँबाट झाडापखाला, टाइफाइड, आउँजस्ता रोगहरू फैलिन्छन् ।”
तपाईँले हेर्नुभएको होला, विशेष गरी बर्खा याममा रोगहरूको महामारी, जसको मूल स्रोत हो, त्यही खुला वा असुरक्षित रूपमा बगाइएको फोहर ।
वातावरणविद् राजीव जोशीका अनुसार, अहिले नेपालमा मुख्य दुई वटा मलमूत्र व्यवस्थापन प्रणाली प्रचलनमा छन्, ढल भएको र ढल नभएको । तिनीहरूमध्ये, ढल नभएको प्रणाली (सरल, सस्तो र गाउँ–शहर दुबैका लागि उपयुक्त मानिन्छ । यस प्रणालीअन्तर्गत घर–घरमा सेप्टिक ट्याङ्की निर्माण गरिन्छ, जुनले मलमूत्रलाई केही मात्रामा प्रशोधन गरेर फोहर पानीलाई सोकपिट मार्फत जमिनमा रसाइदिन्छ ।
उहाँ भन्नुहुन्छ, “तपाईँ नक्सा पास गर्न जानुहुन्छ, तर सेप्टिक ट्याङ्कीको डिजाइनको निगरानी नगरिएसम्म यो प्रणालीको प्रभावकारिता कायम रहँदैन । त्यसैले स्थानीय तहको भूमिका यति बेला अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।”
त्यस्तै वातावरणविद् सुमन शर्मा भन्नुहुन्छ, “खानेपानी, सरसफाइ र स्वच्छता तपाईँको र मेरो मौलिक अधिकार हो, नेपालको संविधानले त्यसलाई ग्यारेन्टी गरेको छ ।”
उहाँका अनुसार, मानव मलमूत्र व्यवस्थापन भन्नाले केवल शौचालय बनाउनु मात्र होइन, त्यो शौचालयबाट निस्कने फोहरको सुरक्षित विसर्जनसम्मको प्रक्रिया बुझिनुपर्छ र त्यो प्रक्रिया केवल प्रविधिबाट होइन, व्यवहार परिवर्तनबाट पनि सुरु हुन्छ ।
निष्कर्षमा, तपाईँको घरको सेप्टिक ट्याङ्की केवल कागजमा पास हुनु हुँदैन, व्यवहारमा सुरक्षित पनि हुनुपर्छ । किनभने सुरक्षित मलमूत्र व्यवस्थापन भनेको तपाईँको स्वास्थ्य, तपाईँको वातावरण र तपाईँको समाज सुरक्षित हुनु हो ।


