Together for Resilience
Together for Resilience

बाढी र पहिरोको छायाँमा जीवन : पार्वती र धर्माको कथा

क्रियटिभ खबर, २२ माघ २०८२, काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की पार्वती खड्का हरेक वर्ष बर्खा सुरु भएसँगै डर र त्रासमा दिन–रात बिताउनुहुन्छ । पहाडबाट स्प्रिङ सिजनमा तराई झरेर दोधा नदीको छेउमा बसोबास गर्न थालेकी पार्वतीलाई सुरुमा यहाँको बाढीको जोखिमबारे थाहा थिएन । तर बर्खा लागेपछि नदी उर्लिएर आउँदा उहाँको जीवन नै बदलियो । “पहाडतिर धेरै पानी परेको खबर पाउनासाथ हामी भाग्न तयार हुन्छौं,” उहाँ भन्नुहुन्छ, “तर बाढी आएपछि भाग्ने बाटो नै हुँदैन ।”
बाढी सुरु हुँदा पहिले घर अगाडिको पोखरी भरिन्छ, त्यसपछि चारैतिर पानी फैलँदै जान्छ। दोधा नदी पूरै भरिएपछि सिंगो बस्ती तलाउजस्तै हुन्छ । तीन पटक घर बाढीले भत्काइसकेको छ। १८ वटा कुखुरा, एक गाई, एक गोरु र एक बहर बाढीले लग्यो । पार्वतीका अनुसार विपद्मा महिलालाई सबैभन्दा बढी पीडा सहनु पर्छ । बालबच्चा, बुढाबुढी, पशुपन्छीको हेरचाहदेखि खानेकुराको जोहोसम्मको चिन्ता महिलाकै काँधमा आउँछ ।
यस्तै पीडादायी अनुभव कैलालीको चुरे गाउँपालिका–३ का धर्मा झासँग पनि छ । एक्कासि गर्ल्याम्म गर्दै आएको पहिरोले उहाँको खेतबारी, धान र बाटोसम्म बगायो । “गाईभैंसी, बालबच्चा र महत्त्वपूर्ण कागज मात्र जोगाउन सक्यौँ,” उहाँ सम्झनुहुन्छ। अहिले पनि ठुलो पानी पर्छ कि भनेर डरले जमिनमा चिरा परेको छ कि भनेर हेर्दै हिँड्नु उहाँको दैनिकी बनेको छ ।
कैलाली र कञ्चनपुरका यस्ता समुदायहरू बाढी, पहिरो, डुबान र हुरीबतासको अत्यधिक जोखिममा छन् । कमजोर पूर्व चेतावनी प्रणाली, आपत्कालीन सञ्चारको अभाव, दक्ष जनशक्तिको कमी र सामाजिक कुरीतिले जोखिम झनै बढाएको छ । त्यसैले यस्ता समुदायमा पूर्वानुमानमा आधारित पूर्वकार्य, आपत्कालीन तयारी, सुरक्षित आश्रय, जनचेतना र जीविकोपार्जन सुधारका पहल अत्यावश्यक छन् । 

spot_img

Latest articles

Featured

spot_img