Together for Resilience
Together for Resilience

पूर्वानुमानमा आधारित पूर्वकार्य के हो ?

क्रियटिभ खबर, २१ असार २०८२, काठमाडौँ । “अहिले त के हुन्छ भने, हिउँदमा बर्खा, बर्खामा हिउँद जस्तो हुन्छ,” दाङको बबई गाउँपालिका–७ का स्थानीय लाल बहादुर डाँगी दुःखी स्वरमा भन्नुहुन्छ, “डुबानले मकै, धान सबै नास भयो, देवीपुरमा त घरसँगै मान्छे पनि बगायो, पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ ।”
उहाँको यो पीडा जलवायु परिवर्तनका कारण दिन–प्रतिदिन बढ्दै गइरहेका मौसमजन्य प्रकोपहरूको प्रत्यक्ष प्रमाण हो। तर अब मौसमको रिसलाई समयमै चिन्न सक्ने, त्यसको असर घटाउन सक्ने एउटा नयाँ उपाय प्रचलनमा आएको छ। पूर्वानुमानमा आधारित पूर्वकार्य (Anticipatory Action)।
रेडक्रस क्लाइमेट सेन्टरका सिनियर टेक्निकल एडभाइजर, माधव उप्रेती, भन्नुहुन्छ, “यदि हामीसँग बाढी, खडेरी वा तातो हावाको बारेमा केही दिन वा केही घण्टाअघि नै पूर्वानुमान हुन्छ भने, हामीले त्यसै अनुसार जोखिम न्यून गर्न सक्ने गतिविधिहरू गर्न सक्छौँ, यसैलाई नै पूर्वकार्य भनिन्छ ।”
पूर्वकार्यलाई सफल बनाउन तीन वटा आधारभूत खम्बाहरू आवश्यक छन्:
१. भरपर्दो पूर्वानुमान सूचना
२. त्यसको आधारमा गरिने पूर्वकार्य (Early Action)
३. यसलाई कार्यान्वयन गर्न सक्ने साधन स्रोत (वित्तीय संयन्त्र)
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का राजेन्द्र शर्मा भन्नुहुन्छ, “तपाईँ कल्पना गर्नुस्, तीन दिनपछि ठुलो पानी पर्छ भन्ने सूचना आयो, र हामीले समयमै काम गर्‍यौँ भने, त्यसले धनजनको क्षति कम हुन्छ, अनि उद्धारमा लाग्ने समय, जनशक्ति पनि घट्छ । त्यसैले पूर्वकार्य अत्यन्त महत्त्वपूर्ण हुन्छ ।”
डेनिस रेडक्रसकी निरु प्रधान भन्नुहुन्छ, “जल तथा मौसम विज्ञान विभागले दिने सूचनाहरू भरपर्दो छन्, र समुदायहरू पनि सचेत बन्दै गएका छन् । स्थानीय तहले पनि बजेट छुट्याउन थालेका छन् । गाउँमा सूचना पुर्‍याउने संयन्त्र बनिसकेको छ, बडघर, चिरागी, स्वयंसेवकहरू घर–घर जान्छन् ।” पूर्वतयारी र सूचनामा आधारित कार्यले अब गाउँ, गाउँमा चेतना बढेको छ ।

spot_img

Latest articles

Featured

spot_img