क्रियटिभ खबर, १६ श्रावण २०८२, काठमाडौँ । “अब आगो लाग्यो भने निभाउन धेरै सजिलो हुने भयो, मालारानी ७, अर्घाखाँचीका ओम बहादुर सुनारको आवाजमा अब आत्मविश्वास झल्किन्छ । उहाँ भन्नुहुन्छ, “अब आगो लाग्यो भने हामी आफैँ निभाउन सक्छौँ ।”
अर्घाखाँचीको मालारानी ७ मा पहिले–पहिले आगलागी हुँदा सबै जना आत्तिन्थे । न दमकल आउने व्यवस्था, न त आगो निभाउने उपकरण नै । विकट भूगोल भएका कारण अन्य सहयोग पनि धेरै ढिलो मात्रै पुग्दथ्यो, तर आगोले ढिलो गर्दैनथ्यो ।
तर अब अवस्था फेरिएको छ । अहिले रेडक्रसको सहयोगमा खानेपानी संरचनासँगै फायर पोइन्टहरु बनाइएको छ । पाइपलाइन भएको ठाउँ–ठाउँमा पानी निकाल्न मिल्ने व्यवस्था गरिएको छ, जसबाट आगलागीको बेला तुरुन्त पानी उपयोग गर्न सकिन्छ ।
ओम बहादुर लगायत गाउँलेले कसरी सुरक्षित रूपमा आगो निभाउने र कसरी सहकार्य गर्ने भनेर तालिम पनि पाएका छन् । उनीहरू घाँस काट्न जाँदा, चुलो बाल्दा वा जाडोमा आगो ताप्दा पनि सजग छन् ।
“पहिला डर लाग्थ्यो, अब तयार छौँ,” ओम बहादुर मुस्कानसहित भन्नुहुन्छ । गाउँलेको मेहनत र तयारीले अब मालारानी सजग छ र समुदाय त्यसको सामना गर्न तयार छ ।


