क्रियटिभ खबर, १७ असार २०८३, — काठमाडौं, “आगामी तीन दिनभित्र भारी वर्षाको उच्च सम्भावना छ। कृपया सचेत रहनुहोस् र पूर्वतयारी गर्नुहोस्।” जहादा गाउँपालिकाकी मनिषा मण्डलले माइक हातमा लिएर यो घोषणा गर्दा उनको आवाजमा गम्भीरता र दृढता थियो। यो सामान्य मौसम अपडेट मात्र थिएन, बरु समुदायका लागि सुरक्षित रहने एउटा महत्वपूर्ण संकेत थियो।
प्रविधिको पछाडिको मानवीय शक्ति
पूर्व सूचना प्रणाली (Early Warning System) भन्नाले प्रायः मौसम पूर्वानुमान मोडेल, साइरन वा एसएमएस बुझिन्छ। तर, एउटा सफल प्रणालीको वास्तविक मेरुदण्ड भनेको मानवीय क्षमता (Human Capacity) हो। नेपालको ‘सबैका लागि पूर्व सूचना’ (EW4All) पहल अन्तर्गत स्थानीय स्तरमा गरिएको क्षमता अभिवृद्धिले अहिले ठूलो परिवर्तन ल्याएको छ।
नेपाल रेडक्रस सोसाइटीकी स्वयंसेवक मनिषा भन्छिन्, “पहिले हामीलाई मौसमको जानकारी कसरी लिने र कसरी फैलाउने भन्ने थाहा थिएन। तर तालिम पाएपछि अहिले हामी जोखिमपूर्ण घरधुरी पहिचान गरेर सही सूचना पुर्याउन सक्षम भएका छौँ।”
पूर्व सूचनादेखि पूर्व कार्यसम्म
क्षमता अभिवृद्धिको मुख्य उदेश्य सूचनालाई कार्यमा बदल्नु हो। स्थानीय आपतकालीन सञ्चालन केन्द्र (LEOC) का साबिर हुसेनका अनुसार पहिले विपद् आउँदा अन्योल हुन्थ्यो, तर अहिले सञ्चार च्यानल र भूमिकाहरू स्पष्ट छन्, कसले सूचना लिने, कसले प्रमाणीकरण गर्ने र कसरी समुदायमा पुर्याउने भन्ने कुरा तय छ। पूर्वी नेपालको पहिरोको जोखिममा रहेको फालेलुङका डम्बर मादेन थप्छन्, “पहिले हामी सूचनामा ध्यान दिँदैनथ्यौँ। अहिले माइक र सामाजिक सञ्जाल मात्र होइन, घर-घरमा पुगेर मानिसहरूलाई बुझाउने तरिका सिकेका छौँ, जसले गर्दा चेतावनीको प्रभावकारिता बढेको छ।”


