बालमैत्री पूर्वसूचना : विपद् जोखिम न्यूनीकरणमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी माध्यम

क्रियटिभ खबर, १७ असार २०८३, काठमाडौं, काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा बाढी, डुबान, अत्यधिक वर्षा, चट्याङ, गर्मी तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गइरहेका बेला बालबालिकाको सुरक्षालाई केन्द्रमा राखेर बालमैत्री पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिन थालिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार बालमैत्री पूर्वसूचना भनेको बालबालिकाले सहज रूपमा बुझ्न सक्ने भाषा, माध्यम र शैलीमा समयमै जोखिमसम्बन्धी सूचना उपलब्ध गराउने प्रणाली हो । यसले विपद् आउनुअघि नै आवश्यक जानकारी दिई सुरक्षित निर्णय लिन, तयारी गर्न तथा जोखिमबाट जोगिन सहयोग पुर्‍याउँछ ।
प्राधिकरणका अनुसार यस्ता सूचनाहरू मोबाइल एसएमएस, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, स्मार्ट साइरन, स्थानीय सरकार तथा समुदायका अगुवामार्फत प्रवाह गरिन्छ । सूचना सरल, स्पष्ट, समयमै प्राप्त हुने र बालबालिका, अभिभावक तथा समुदाय सबैले बुझ्ने खालको हुनुपर्नेमा जोड दिइएको छ ।
NDRRMA ले विपद्को सूचना प्राप्त भएपछि बेवास्ता नगरी परिवार, विद्यालय र समुदायमा जानकारी साझा गर्न, सुरक्षित स्थानको पहिचान गर्न तथा नदी, खोला र डुबान हुने क्षेत्रबाट टाढा रहन बालबालिकालाई प्रोत्साहित गरेको छ। साथै, विद्यालय, अभिभावक र समुदायले संयुक्त रूपमा अभ्यास तथा सचेतना कार्यक्रम सञ्चालन गरेमा बालबालिकाको सुरक्षा अझ प्रभावकारी हुने विश्वास प्राधिकरणको छ ।
प्राधिकरणका अनुसार “सबैका लागि पूर्वसूचना (Early Warnings for All)” अभियानको उद्देश्य कुनै पनि व्यक्ति, विशेषगरी बालबालिका, विपद्को पूर्वसूचनाबाट वञ्चित नहोस् भन्ने हो । समयमै प्राप्त पूर्वसूचनाले जनधनको क्षति न्यूनीकरण गर्नुका साथै सुरक्षित र विपद्-प्रतिरोधी समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने NDRRMA को भनाइ छ ।

spot_img

Latest articles

Featured

spot_img