क्रियटिभ खबर, ०४ असार २०८३, बाँकेको राप्तीसोनारी-२ का देवबहादुर थापा उभिएको जमिन कुनै समय राप्ती नदीको बगर थियो । नदीले धार परिवर्तन गरेपछि यो क्षेत्र सार्वजनिक चरन क्षेत्रमा परिणत भएको थियो । तर, बी-ग्रुपको पहलमा सञ्चालित परियोजनाले यस बंजर भूमिलाई अहिले एउटा उदाहरणीय बगैंचामा बदलेको छ । स्थानीय दुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा यहाँ कागती, लिची र अमला जस्ता विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपिएका छन् । सिँचाइका लागि बोरिङको व्यवस्था मिलाइएको छ र स्थानीय समुदायले यसको संरक्षण गरिरहेका छन् । यो प्रकृतिमा आधारित समाधानले एकातिर बाढीको जोखिमलाई कम गर्नेछ भने अर्कोतिर वातावरणलाई हरियाली बनाउनेछ । भविष्यमा यी बोटबिरुवाबाट हुने आम्दानी गाउँका सबैभन्दा विपन्न र जोखिममा रहेका परिवारहरूको जीविकोपार्जनका लागि उपयोग गरिने दृढ संकल्प देवबहादुर व्यक्त गर्नुहुन्छ ।


